काठमाडौं/ उपत्यकामा बिहीबार राति परेको वर्षासँगै वायु प्रदूषणमा उल्लेख्य कमी आएको छ। वर्षाले हावामा रहेको धुलो र धुवाँका कणहरू पखालिएपछि शुक्रबार बिहान उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ३४ मा झरेको छ, जुन स्वास्थ्यका दृष्टिले राम्रो र सुरक्षित मानिन्छ। यसअघि बिहीबारसम्म वायु गुणस्तर सूचकाङ्क १५० भन्दा माथि पुगेको थियो र अस्वस्थ स्तरमा पुगेको मानिएको थियो।
वायु गुणस्तर मापन अनुसार ५० सम्म राम्रो, ५१ देखि १०० मध्यम, १०१ देखि १५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० अस्वस्थ, २०१ देखि ३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि पुगे खतरनाक तहमा पुगेको संकेत मानिन्छ। केही दिनअघि काठमाडौंको वायु गुणस्तर सूचकाङ्क २०० नजिक पुग्दा स्वास्थ्यका दृष्टिले हानिकारक अवस्था देखिएको थियो।
देशका अन्य स्थानमा पनि प्रदूषणको मात्रा बढेको भए पनि वर्षासँगै हावामा रहेका प्रदूषक कणहरू घटेर वायु गुणस्तरमा सुधार आएको बताइएको छ।











