सिलगढी, देशभर हाल पश्चिमी वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आकाश साधारण बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
सुदूरपश्चिम प्रदेशको तराईका अधिकांश स्थान तथा अन्य तराईका केही क्षेत्रमा हुस्सु लागेको छ। आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारण बदली रहनेछ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो यथावत् रहनेछ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि अन्य क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहने अनुमान छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पुनः हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले बिहानको समयमा तराई क्षेत्रमा देखिने हुस्सु र कुहिरो तथा उच्च पहाडी र हिमाली भूभागमा हुन सक्ने हल्का वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा र सडक यातायातमा आंशिक असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।











