कैलाली — कैलालीको टीकापुर नगरपालिकामा अवैध काठ बरामद गरिएको छ। टीकापुर नगरपालिका–५ सिम्रेनी क्षेत्रको भित्री सडक खण्डबाट प्रहरीले मंगलबार अवैध रूपमा ओसारपसार भइरहेको काठ फेला पारेको हो।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले नम्बर प्लेट स्पष्ट नदेखिने सोनालिका डीएल–७४५ थ्री कम्पनीको ट्र्याक्टरको ट्रालीमा लोड गरिएको काठ बरामद गरेको जनाएको छ। बरामद काठमा सिमल जातको गोलिया १३ थान (८७.५४ क्यूफिट) र भिल्लर जातको गोलिया ४ थान (१७.९४ क्यूफिट) रहेका छन्।
प्रहरीका अनुसार बरामद काठको अन्दाजी मूल्य ३१ हजार ६४४ रुपैयाँ रहेको छ। काठसहित ट्र्याक्टर ट्राली आवश्यक कारबाहीका लागि सब–डिभिजन वन कार्यालय टीकापुर, कैलालीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।











