काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच ७ बुँदे सहमति पत्रमा औपचारिक हस्ताक्षर भएको छ। दुवै पक्षबीच भएको यो सहमतिलाई नेपाली राजनीतिमा वैकल्पिक शक्तिको साझा प्रयासका रूपमा हेरिएको छ।
सहमति अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनपछि रास्वपाले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नेछ। पार्टीको नाम, झण्डा र चुनाव चिन्ह भने यथावत् राष्ट्रिय स्वतन्त्र पार्टीकै रहने सहमति भएको छ। पार्टीको केन्द्रीय सभापतिको जिम्मेवारी रवि लामिछानेले नै सम्हाल्ने उल्लेख छ।
सहमति पत्रमा भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाहरूले सञ्चालन गरेका आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सो क्रममा घाइते भएका तथा सहिद परिवारका जायज मागहरूलाई उचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता गरिएको छ।
त्यसैगरी नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक तथा सामाजिक रूपान्तरण गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने लक्ष्यमा दुवै पक्ष प्रतिबद्ध रहने उल्लेख गरिएको छ।
एकतापछि कायम रहने दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी” नै हुनेछ। पार्टीको झण्डा निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टीको चिन्हसहित रहनेछ भने चुनाव चिन्ह पनि घण्टी नै हुनेछ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकाभित्र रहने सहमति छ।
सहमति अनुसार प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह हुनेछन्। साथै पार्टीको संगठनात्मक संरचनालाई थप सशक्त बनाउँदै युवा अभियन्ता र अनुभवी विज्ञहरूलाई समेटिनेछ। जिम्मेवारी बाँडफाँट गर्दा योग्यता, समावेशिता र सार्वजनिक विश्वासलाई प्राथमिकता दिइने उल्लेख छ।
यस सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्धित सबै विवरण निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ। साथै लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका एजेन्डामा एकजुट हुन अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई समेत आह्वान गरिएको छ।
हस्ताक्षर कार्यक्रममा रास्वपाको तर्फबाट स्वर्णिम वाग्ले, डीपी अर्याल, शिशिर खनाल र असिम शाह सहभागी थिए। बालेन शाह पक्षबाट कुमार बेन, केपी खनाल, निश्चल बस्नेत, भूपदेव शाह, सुदिप ढकाललगायतको उपस्थिति थियो।











