कञ्चनपुर/ कञ्चनपुरमा पहिलोपटक प्रविधिको सहायताले सवारी साधनको गति परीक्षण सुरु गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले बजार क्षेत्रमा ‘राडार स्पिड गन’ प्रयोग गर्दै सवारी साधनको गति जाँचको काम थालेको हो।
जिल्लाका बजार क्षेत्रहरूमा प्रतिकिलोमिटर ३० को गतिमा सवारी चलाउन अनुमति भएपनि, भीडभाड हुने क्षेत्रमा समेत तीव्र गतिमा सवारी चलिरहेको पाइएपछि अब प्रविधि मार्फत परीक्षण गरिएको हो।
प्रहरी निरीक्षक वलेन्द्र नाथका अनुसार, महेन्द्रनगर बजारमा हाल मुख्य सडकहरूमा सवारीको गति परीक्षण भइरहेको छ। “यस क्षेत्रमा तीव्र गतिमा सवारी चलाइरहेको भेटिएपछि गति जाँच गर्न प्रविधि उपलब्ध गराउन सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई अनुरोध गरेका थियौँ। उपकरण उपलब्ध भएपछि परीक्षण सुरु गरेका छौँ,” उनले बताए।
उक्त परीक्षणको क्रममा प्रतिकिलोमिटर ५० भन्दा बढीको गतिमा सवारी चलाइरहेका दुई चालकलाई जरिवाना गरिएको छ। विशेषगरी प्रतिकिलोमिटर ५४ को गतिमा कार चलाउने चालक र ५९ को गतिमा मोटरसाइकल चलाउने चालकलाई क्रमशः जरिवाना गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
हालसम्म महेन्द्रनगर क्षेत्रमा झन्डै ३०० सवारी साधनको गति परीक्षण गरिएको छ।
साथै, ट्राफिक प्रहरी कार्यालयले महेन्द्रनगरस्थित विद्यालय, विश्वविद्यालय र भीमदत्त नगरपालिकामा सडक सुरक्षा र ट्राफिक सचेतना कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। कार्यक्रममा सहभागीहरूलाई सवारी साधन चलाउँदा धेरै गतिमा नचलाउने, जेब्रा क्रसिङबाट सडक पार गर्ने र मादक पदार्थ सेवन नगरी सवारी चलाउने बारे सचेत गराइएको छ।











