बुटवल । बुटवलस्थित सुप्रीम सहकारीको बचत अपचलन प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई अदालतले तारेखमा रिहा गर्न आदेश दिएको छ।
उच्च अदालत बुटवलको तुलसीपुर इजलासले लामिछानेलाई जिल्ला अदालतले तोकेको धरौटी कायम राख्ने सर्तमा रिहा गर्नू भन्ने आदेश दिएको हो।
न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा बिहीबार भएको सुनुवाइपछि उक्त आदेश आएको हो। यसअघि इजलाससम्बन्धी कारणले पटक–पटक स्थगित हुँदै आएको लामिछाने र छविलाल जोशीसम्बन्धी मुद्दाको सुनुवाइ अन्ततः टुंगोमा पुगेको हो।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार जिल्ला अदालत बुटवलले यसअघि दिएको धरौटीमा रिहा गर्ने आदेशलाई उच्च अदालतले सदर गरेको छ।
“रवि लामिछानेका हकमा जिल्ला अदालतले माग गरेको धरौटी कायम राखी तारेखमा रिहा गर्न आदेश भएको छ,” कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार छविलाल जोशीको हकमा भने जिल्ला अदालतबाटै प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।











