काठमाडौँ — विराटनगर किंग्सलाई ७८ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार दोस्रो वर्ष नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ।
दिपेन्द्र सिंह ऐरी कप्तानी गरेको सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउन उतरेको विराटनगर १४.१ ओभरमै ७८ रनमा समेटिएको थियो।
जितसँगै सुदूर उपाधि नजिक पुगेको छ भने विराटनगरले अब फाइनलमा पुग्ने आशा जोगाउन इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ। इलिमिनेटर भिडन्त बुधबार लुम्बिनी लायन्स र काठमाण्डू गोर्खाजबीच हुनेछ।
विराटनगर तर्फ ओपनर फाफ डु प्लेसिसले २९ बलमा ३६ रन बनाएर टिमलाई जोगाउने प्रयास गरे पनि अन्य ब्याट्सम्यानले खास योगदान दिन सकेनन्। बसिर अहमदले १२ रन बाहेक टिमका बाकि खेलाडी दोहोरो अंकमा पुग्न असफल रहे।
गोलाप्रधान खेलमा सुदूरका हर्मित सिंह, स्कट कुग्ल्याने र अविनाश बोहराले समान २–२ विकेट लिए भने हेमन्त धामी र कप्तान ऐरीले एक–एक विकेट जोडे।
यसअघि टस हारेरपहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटमा १५५ रनको योगफल बनाएको थियो। नेपालको अनुभवी ब्याट्सम्यान विनोद भण्डारीले टिमलाई टेवा दिँदै ५२ बलमा ६३ रन प्रहार गरे। उनले ३ चौका र २ छक्का हिर्काए।
आरिफ शेख र शेल्डन ज्याक्सनले समान रूपमा छोटो तर प्रभावकारी पारी खेले — आरिफले १३ बलमा २० रन र ज्याक्सनले ११ बलमा २० रन बनाएका थिए।
विराटनगरतर्फ प्रतिश जिसी र मार्चेन डे लिङ्गाले समान २–२ विकेट लिए भने सुर्य तामाङ र साम हेज्लेटले एक–एक विकेट हात पारे।











