कञ्चनपुर / रोजगारीको खोजीमा युवायुवतीहरू बाहिरिने क्रम बढिरहेका बेला कञ्चनपुरको बेलौरी नगरपालिका–९, डाँडा कुन्डाका १८ जना युवायुवती बिहीबार मजदुरीका लागि भारत प्रस्थान गरेका छन्।
उनीहरू सिजन अनुसार हुने कफी टिपाइको कामका लागि भारतको दक्षिणी पहाडी राज्य केरलातर्फ गएका हुन्। गाउँका अम्मर भारतीले घरखर्च धान्नका लागि श्रीमतीसँगै केरला गएका भए पनि आफ्नो तीन वर्षको छोरा भने घरमै छोडेर आएका छन्।
“यहाँभन्दा त्यहाँ कमाई राम्रो हुन्छ। कमाएको रकमले घरखर्च धान्न सजिलो हुन्छ,” भारतीले बताए। उनका अनुसार केही रकम बचत गरी आवश्यक सामग्री तथा टेलिभिजन जस्ता उपकरण किन्ने योजना पनि छ।
कुन्डाका १८ जना स्थानीय एउटै गाडी लिएर आवश्यक सामग्रीसहित घरबाटै तयारी गरेर भारततर्फ हिँडेका थिए। कञ्चनपुरका विभिन्न क्षेत्रबाट हरेक वर्ष सयौँ युवायुवती कफी टिप्न केरला जाने गरेका छन्। सिजनमा एक लाख भारतीय रूपैयाँसम्म बचत हुने बताइन्छ।
गाउँका गङ्गा चौधरी पनि परिवारका साना बालबालिका छाडेर मजदुरीका लागि केरलातर्फ लागेका छन्। सामुदायिक वनमा हेरालुका रूपमा काम गर्दै आएका अजव भारतीले समेत जागिर छाडेर केरला जाने निर्णय गरेका छन्।
स्थानीय शङ्कर भारतीका अनुसार खाडी मुलुक तथा भारतका विभिन्न शहरमा काम गर्न जाने परम्परा निकै पुरानो भए पनि एकैदिन १८ जना बाहिरिएपछि गाउँ युवाविहीनजस्तै भएको छ।
चन्द्रबहादुर महराका अनुसार अन्य समयमा धेरै युवाहरू हरियाणा, दिल्ली, मुम्बई लगायतका क्षेत्रमा मजदुरी गर्दै आएका छन्।
स्थानीयले सरकार रोजगार सिर्जना गर्न असफल हुँदा युवायुवती बर्सेनि विदेशिन बाध्य भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।











