डोटी / गर्मीयाम सुरु भएसँगै देशका विभिन्न भागमा गर्मीका कारण लाग्ने विभिन्न रोगहरूको जोखिम बढ्न हुन्छ । अत्यधिक तापक्रम, दूषित खानेपानी, अस्वस्थकर खानपान तथा सरसफाइमा कमीका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरू बढी प्रभावित हुने स्वास्थ्य विज्ञहरु बताउनछन् ।
स्वास्थ्यकर्मीका अनुसार गर्मीयाममा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, फुड पोइजनिङ, डिहाइड्रेसन (शरीरमा पानीको कमी), गर्मीजन्य थकान तथा लु लाग्ने समस्या बढी देखिने गर्छ । साथै लामखुट्टेको प्रजनन बढेसँगै डेंगु ज्वरो लगायतका रोगको जोखिम पनि बढ्ने गर्दछ ।
विशेष गरी अत्यधिक गर्मीमा लामो समय घाममा काम गर्ने, पर्याप्त पानी नपिउने तथा दूषित खाना सेवन गर्ने व्यक्तिहरूमा स्वास्थ्य समस्या बढी देखिने चिकित्सकहरू बताउँछन् । लु लाग्दा अत्यधिक पसिना आउने, टाउको दुख्ने, चक्कर लाग्ने, वाकवाकी हुने, ज्वरो आउने र बेहोस समेत हुन सक्ने भएकाले गर्मियामको समयमा विशेष ध्यान दिनु पर्ने चिकित्सकहरू सुझाउन्छन् ।
गर्मीयाममा प्रशस्त मात्रामा सफा र उमालेको वा शुद्ध पानी पिउने, बासी तथा खुला ठाउँमा राखिएको खाना नखाने, फलफूल तथा तरकारी राम्ररी धोएर मात्र सेवन गर्ने, अत्यधिक घाममा लामो समयसम्म नबस्ने र आवश्यक परे छाता वा टोपी प्रयोग गर्ने, शरीरलाई चिसो राख्ने र हलुका कपडा लगाउने, नियमित साबुनपानीले हात धुने र व्यक्तिगत सरसफाइमा ध्यान दिने, लामखुट्टेबाट बच्न झुल, जाली तथा आवश्यक सावधानी अपनाउदा जोगिन सकिने चिकित्सकहरु सुझाउन्छन् । स्वास्थ्य विज्ञहरूले ज्वरो, पखाला, अत्यधिक कमजोरी, बान्ता वा बेहोस हुनेजस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनु पर्ने बताउन्छन् ।











