भदौ १९ / रातो सारी, हरियो चुरा, मेहन्दीले सजिएका हात र तीजका गीतले नेपाली समाजमा छुट्टै रौनक ल्याएको छ। हिन्दू धर्मावलम्बी महिलाहरू आज देवादिदेव महादेव र पार्वतीको पूजा–आराधना गर्दै हरितालिका तीज मनाउँदैछन्। धार्मिक आस्थासँगै भेटघाट, नाचगान र आफ्ना भावना अभिव्यक्त गर्ने अवसरका रूपमा समेत तीज नेपाली समाजमा स्थापित छ।
भाद्र शुक्ल पक्षको तृतीया तिथिमा हरितालिका तीजको व्रत बस्ने परम्परा छ। धार्मिक मान्यताअनुसार यस दिन शिव–पार्वतीको पूजा तथा उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास गरिन्छ। विवाहित महिलाले पतिको दीर्घायु र पारिवारिक सुखको कामना गर्दै व्रत बस्ने गर्छन् भने अविवाहित महिलाले आफूले चाहेको सुयोग्य वर प्राप्त होस् भन्ने कामना गर्ने परम्परा छ।
यद्यपि शास्त्रीय रूपमा महिला र पुरुष दुवैले यो व्रत गर्नुपर्ने उल्लेख पाइन्छ। सामाजिक अभ्यासमा भने तीज विशेषगरी महिलाको पर्वका रूपमा विकसित भएको छ। यही कारण तीज धार्मिक अनुष्ठानसँगै महिलाको सामाजिक सम्बन्ध, अनुभव र मनोभावना व्यक्त गर्ने महत्वपूर्ण अवसरसमेत बनेको छ।
पार्वतीको तपस्यासँग जोडिएको कथा
हरितालिका तीजको धार्मिक महत्त्वसँग एउटा प्रसिद्ध पौराणिक कथा जोडिएको छ। कथाअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले भगवान् शिवलाई आफ्नो पति बनाउने इच्छा राखेर कठोर तपस्या गरेकी थिइन्।
पार्वतीका पिता हिमालयले भने उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिने तयारी गरे। आफूले चाहेको वरसँग विवाह गर्न नपाउने अवस्था आएपछि पार्वतीले आफ्ना सखीहरूसँग समस्या सुनाइन्।
सखीहरूले पार्वतीलाई त्यहाँबाट गुप्त स्थानमा लगे। कसैले नदेख्ने ठाउँमा पुगेपछि पार्वतीले महादेवलाई पति पाउने अभिलाषाका साथ कठोर निराहार व्रत र तपस्या गरिन्। उनको तपस्याबाट प्रसन्न भएर महादेवले उनलाई पत्नीका रूपमा स्वीकार गरेको पौराणिक विश्वास छ।
सखीहरूले पार्वतीलाई हरण गरेर सुरक्षित स्थानमा लगेकाले यस पर्वको नाम ‘हरितालिका’ रहन गएको धार्मिक मान्यता छ। संस्कृतका ‘हरित’ र ‘आलिका’ शब्दबाट ‘हरितालिका’ बनेको मानिन्छ। ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी वा सखी भन्ने बुझिन्छ।
व्रतसँगै जोडिएको उत्सव
तीज केवल व्रत र पूजामा सीमित पर्व होइन। यसले नेपाली समाजमा महिला–महिलाबीचको भेटघाट, आत्मीयता र सांस्कृतिक सम्बन्धलाई पनि बलियो बनाउँदै आएको छ।
तीजको अवसरमा महिलाहरू माइती तथा आफन्तकहाँ भेला हुने, सुख–दुःख साट्ने, नाचगान गर्ने र गीतमार्फत आफ्ना भावना व्यक्त गर्ने गर्छन्। परम्परागत तीज गीतमा शिव–पार्वतीको भक्तिगाथादेखि पारिवारिक जीवन, सामाजिक अवस्था, प्रेम, पीडा, संघर्ष र महिलाका मनका कुरा समेत समेटिएका हुन्छन्।
यसरी हेर्दा तीज धार्मिक आस्थासँगै महिलाले आफ्ना अनुभव र आवाज सार्वजनिक रूपमा अभिव्यक्त गर्ने सांस्कृतिक माध्यमका रूपमा समेत विकास भएको देखिन्छ।
व्रतमा स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण
तीजको व्रतलाई धार्मिक आस्थासँग जोडिए पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्नेमा धार्मिक ग्रन्थमै जोड दिइएको पाइन्छ। व्रत निराहार, जलाहार वा फलाहारमध्ये आफ्नो स्वास्थ्यअनुकूल विधिबाट बस्न सकिने मान्यता छ।
निराहार अर्थात् केही पनि नखाई व्रत बस्ने, जलाहारमा पानी मात्र सेवन गर्ने तथा फलाहारमा फलफूल, दूधलगायतका खाद्य पदार्थ सेवन गर्ने गरिन्छ। स्वास्थ्यका कारण निराहार बस्न नसक्नेले आफ्नो शरीरको अवस्थाअनुसार पानी, फलफूल, दूध, सखरखण्ड, पिँडालु, तरुललगायतका वस्तु सेवन गर्न सक्ने धार्मिक मान्यता रहेको छ।
स्कन्द पुराणमा औषधि सेवन गर्दा व्रत भङ्ग नहुने उल्लेखसमेत पाइन्छ। त्यसैले व्रतको नाममा आफ्नो स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी शरीरलाई अत्यधिक कष्ट दिनुभन्दा स्वास्थ्य अवस्थाअनुसार व्रतको विधि अपनाउनु उपयुक्त मानिन्छ।
बदलिँदो तीज र नयाँ अर्थ
समयसँगै तीज मनाउने शैलीमा पनि परिवर्तन आएको छ। पहिले मुख्यतः माइती जाने, दर खाने, शिव–पार्वतीको पूजा गर्ने र तीजका गीत गाउने पर्वका रूपमा सीमित रहेको तीज अहिले सामाजिक जागरण र महिला अधिकारका विषय उठाउने अवसरसमेत बनेको छ।
तीजका गीतमा अहिले घरेलु हिंसा, लैङ्गिक विभेद, शिक्षा, रोजगारी, समानता, सामाजिक न्याय र महिलाका अधिकारका विषयसमेत उठ्न थालेका छन्। यसले तीजलाई धार्मिक आस्था र सांस्कृतिक परम्परासँगै समकालीन सामाजिक आवाज अभिव्यक्त गर्ने माध्यम बनाएको छ।
यसर्थ, हरितालिका तीज केवल एक दिनको व्रत होइन; यो आस्था, प्रेम, पारिवारिक सम्बन्ध, संस्कृति र महिलाका भावना जोडिएको पर्व हो। पार्वतीको तपस्या र शिवप्रतिको समर्पणसँग जोडिएको यसको पौराणिक कथा आज पनि पुस्तौँदेखि सुनिँदै आएको छ। बदलिँदो समयसँगै यसको स्वरूप फेरिँदै गए पनि धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको यसको महत्त्व भने कायमै छ।











