काठमाडौं /काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चौथो जीत दर्ता गर्दै उत्कृष्ट प्रदर्शन निरन्तरता दिएको छ। आइतबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सलाई ५ विकेटले हराउँदै काठमाडौँले सुखद नतिजा हात पारेको हो।
कर्णालीले प्रस्तुत गरेको १५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै सहजै पार गर्यो। यससँगै काठमाडौँले ६ मध्ये ४ खेल जित्दै अंकतालिकामा बलियो स्थान बनाएको छ भने कर्णालीले ५ खेलमा ४ औँ हार बेहोर्यो। कर्णालीले अहिलेसम्म एक मात्र खेलमा जित हात पारेको छ।
काठमाडौँको जितमा जेरार्ड एरास्मस र जोन सिम्पसन बीचको ८६ रनको साझेदारी निर्णायक बन्यो। जोन ४१ रनमा आउट भए भने एरास्मस ४३ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्याए।
अन्य ब्याटरमध्ये वेन चार्ल्सवर्थले ३४, मिलिन्द कुमारले १५ र आकाश त्रिपाठीले ८ रन जोडे। रसिद खान भने खाता खोल्न नसकी आउट भए।
कर्णालीका नन्दन यादवले ३ विकेट लिए भने पवन सर्राफले एक विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४९ रन मात्रै जोड्न सक्यो। कर्णालीका गुल्सन झाले तिव्र गतिमा खेल्दै २२ बलमा अविजित ४९ रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोर दिलाए।
मार्क वाटले ३०, पवन सर्राफले ३५, नाजिबुल्लाह जाद्रानले १२, दीपक डुम्रेले १० रन योगदान दिए। कप्तान सोमपाल कामी ६ रनमै समेटिए भने प्रियांक पञ्चाल र विलियम बोसिष्टो क्रमशः ० र १ रनमै आउट भए।
काठमाडौँका बलरमध्ये रशिद खानले २ विकेट, जबकि कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक–एक विकेट झारे।











