सिलगढी/ उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक सक्रिय न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हुरीको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका केही क्षेत्रमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा बदली रहनेछ। यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा समेत मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ।
रातिको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली कायम रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद्हरूले बताएका छन्।
महाशाखाले विशेषगरी लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरी चल्न सक्ने भएकाले सतर्क रहन तथा मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा लिन आग्रह गरेको छ।











