कात्तिक २८
कैलालीको भजनी नगरपालिका–४, झल्झलियाका टीकाराम जैसीले वर्षौँदेखि भारतको हल्दवानीमा पल्लेदारी गरेर आफ्नो परिवार पाल्दै आउनुभएको थियो। तर जन्डिसले थलिएर घर फर्कने क्रममा उहाँको शनिबार बाटोमै मृत्यु भएपछि परिवार पूर्णरूपमा बिचल्लीमा परेको छ।
जैसीका चार र छ वर्षका दुई छोरा तथा आठ र १३ वर्षका दुई छोरी छन्। श्रीमती कमला छातीसम्बन्धी रोगबाट पीडित छिन् र निरन्तर औषधि सेवन गर्नुपर्ने स्वास्थ्य अवस्था छ। परिवारको मुख्य आम्दानीको एकमात्र स्रोत टीकारामकै मजदुरी थियो।
“किरियाखर्च जुटाउन पनि नसक्ने अवस्था”
जग्गाजमिन केही नभएको, बसोबासका लागि एउटा कच्ची घरमात्र रहेको र त्यसमा समेत बिजुली मिटर जोड्न नसकेको मृतककी श्रीमती कमलाले बताउनुभएको छ। श्रीमान्को मृत्यु भएपछि परिवारलाई किरियाखर्च जुटाउनसमेत कठिनाइ परेको छ।
दाहसंस्कारका क्रममा मृतकका ६ वर्षका छोराले दागबत्ती दिएको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेपछि जैसी परिवारको अवस्था देशभर चर्चा गर्न थालिएको छ। अभावका बीच अबोध बालक चितासँगै नाङ्गै बसेको तस्बिरले धेरैलाई भावुक बनाएको छ।
घटनापछि केही व्यक्तिहरूले जैसी परिवारका लागि सहयोग आह्वान गरिरहेका छन्। मृतकका भाइ रमेश जसैले सहयोग आउन थालेपछि भाउजू कमला जैसीको नाममा बैंक खाता खोलिदिएको जानकारी दिनुभएको छ।
बच्चाहरूको पढाइ, श्रीमतीको उपचार र घरखर्चका लागि तत्कालै आर्थिक सहयोग अत्यावश्यक भएको रमेशले उल्लेख गर्दै सहयोगी मनलाई आह्वान गर्नुभएको छ।











