सिलगढी,
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा विद्यार्थीको सिकाइ उपलब्धि अपेक्षाकृत रूपमा कमजोर देखिएको छ। पछिल्ला वर्षहरूमा माध्यमिक शिक्षा परीक्षा (एसइई) तथा अन्य तहका विद्यार्थीको नतिजामा सुधार नआएको शिक्षा विकास निर्देशनालय डोटीको अध्ययनमा उल्लेख छ।
प्रदेशभर हाल तीन हजार ३४३ सामुदायिक र ७४७ निजी विद्यालय सञ्चालनमा रहेका छन्। शैक्षिक सत्र २०८० मा ४७.८६ प्रतिशत विद्यार्थी मात्र एसइईमा सफल भएका थिए भने २०८१ मा सफलता दर बढेर ६१.८१ प्रतिशत पुगेको छ। यद्यपि, शैक्षिक उपलब्धिमा वास्तविक सुधार नदेखिएको सम्बन्धित निकायले जनाएको छ।
सुदूरपश्चिम विश्वविद्यालयका शिक्षाशास्त्र संकायका डिन डा. भवानसिंह चलाउने का अनुसार उत्तीर्ण प्रतिशत मात्र शिक्षण–सिकाइको सूचक होइन। उहाँका शब्दमा, “विद्यार्थी पास हुनु एक कुरा हो, तर सिकाइको गहिराइ कति छ भन्ने मुख्य पक्ष हो। समग्र रूपमा प्रदेशको सिकाइ उपलब्धि करिब ५० प्रतिशत वरिपरि छ।”
यस्तो छ जिल्लागत अवस्था
कञ्चनपुरमा पछिल्ला दुई वर्षमा केही सुधार देखिए पनि नतिजा अझै सन्तोषजनक छैन। शैक्षिक सत्र २०८० मा ३८.१६ प्रतिशत विद्यार्थी मात्र सफल भएका थिए भने २०८१ मा सफलता दर ४५.२३ प्रतिशत पुगेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख लक्ष्मण गिरीले जानकारी दिनुभयो।
कैलालीमा सामुदायिक विद्यालयको अवस्था झन् गम्भीर बन्दै गएको छ। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख ईश्वरीप्रसाद ज्ञवालीका अनुसार विद्यालय निरीक्षण प्रणाली कमजोर भएकाले शिक्षणस्तर खस्कँदै गएको छ। २०८० मा १५ विद्यालयको नतिजा शून्य आएको थियो भने २०८१ मा ४३ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए।
बैतडीमा सवारी र बाटोको अभावका कारण हरेक वर्ष सयौँ विद्यार्थी परीक्षा नै दिन नपाउने गरेको प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो। २०८० मा ३१ प्रतिशत विद्यार्थी मात्र सफल भएका थिए भने २०८१ मा सफलता दर ५२ प्रतिशत पुगेको छ।
दार्चुलामा विद्यालय नतिजा क्रमशः सुधारोन्मुख रहेको देखिन्छ। शैक्षिक सत्र २०८१ मा चार विद्यालयको नतिजा शून्य भए पनि केही विद्यालयमा १०–१२ प्रतिशत सुधार दर देखिएको शिक्षा विकास एकाइका प्रमुख जयराज पन्तले जनाउनुभयो।
बाजुरामा भने शिक्षण–सिकाइ अवस्था तुलनात्मक रूपमा राम्रो देखिएको छ। २०८१ मा ५८.७२ प्रतिशत विद्यार्थीले एसइई पास गरेका थिए, जुन सुदूरपश्चिमकै उच्च दर हो। शिक्षा समन्वय एकाइका प्रमुख टीकाराम जोशीका अनुसार “शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्यले सुधार सम्भव भएको” हो।
अछाममा समग्र सिकाइ उपलब्धि अझै कमजोर देखिन्छ। २०८० मा २८.८५ प्रतिशत मात्र विद्यार्थी सफल भए भने २०८१ मा दर ४०.७५ प्रतिशत पुगेको शिक्षा एकाइ प्रमुख अम्बादत्त जोशीले बताए।
बझाङमा स्थिति अझै निराशाजनक छ। गत वर्ष ३१ प्रतिशत विद्यार्थी मात्र एसइईमा सफल भएका थिए।
त्यस्तै, डडेलधुरा र डोटीमा पनि सामुदायिक विद्यालयको स्तर निकै कमजोर रहेको शिक्षा समन्वय एकाइका अधिकारीहरूले जनाएका छन्। डोटीमा २०८० मा १७ प्रतिशत र २०८१ मा २९ प्रतिशत विद्यार्थी मात्र एसइईमा सफल भएका थिए।
सुदूरपश्चिमका विद्यालय वर्षमा औसत १५० देखि १५२ दिन मात्र सञ्चालन हुने तथ्याङ्कले देखाउँछ। बन्द, हडताल, प्रदेश र स्थानीय तहबाट दिइने बिदा तथा विद्यालयकै अनिश्चित बन्दले गर्दा पाठ्यक्रम पूरा गर्न कठिन भएको सरोकारवालाहरू बताउँछन्।
शिक्षा विज्ञहरूले सामुदायिक विद्यालयको स्तर उकास्न विद्यालय निरीक्षण पुनःसक्रिय बनाउन, शिक्षकको पेशागत जवाफदेहिता बढाउन र विद्यार्थीलाई नियमित विद्यालयमा उपस्थित गराउन नीति तथा व्यवहार दुवैमा सुधार आवश्यक रहेको सुझाव दिएका छन्।











