
डाेटी । डोटीको शिखर नगरपालिका–८ गोपघाटका २८ वर्षीय प्रहरी जवान शंकर बलायरको मृत्यु प्रकरणमा प्रहरीले एक जना बस चालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पक्राउ परेका व्यक्ति बाजुराको गौमुल गाउँपालिका–२ मल्दुकुन निवासी ३३ वर्षीय गणेश धामी हुन् । धामीले चलाएको ना ७ ख १७२ नम्बरको बस बाजुराबाट धनगढी तर्फ जाँदै गर्दा बलायरलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
प्रहरीस्राेतकाअनुसार शंकर बलायरको शव शुक्रबार मध्यराततिर शिखर नगरपालिका–८ गोपघाट नजिकैको केआईसिंह राजमार्गमा भेटिएको थियो । उनी सडकमा घोप्टो अवस्थामा टाउकोमा गम्भीर चोटसहित मृत फेला परेका थिए ।
बलायर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारा अन्तर्गत कार्यरत रहेर हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा सेवा दिइरहेका थिए । असोज ७ गतेदेखि सुरु हुने १८ दिने दसैं बिदामा उनी आफ्नै गाउँ फर्किएका थिए ।
उनकाे शंकास्पद मृत्यु पश्चात् आफन्तहरूले घटनाको छानवीनकाे माग गरेका थिए ।