काठमाडौ,
सरकारले प्रमुख राजनीतिक दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ। जेन–जी आन्दोलनको दमनमा संलग्न भएकाहरू र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा परेकाहरूमाथि कारबाही अघि बढाउने विषयमा छलफल भइरहेको छ।
सुशीला कार्की नेतृत्वको सरकारले यसबारे प्रक्रिया अगाडि बढाएको हो। मन्त्रीपरिषद्सँग निकट स्रोतका अनुसार, तत्कालका लागि पासपोर्ट रोक्ने निर्णय गर्ने र त्यसपछि अन्य कानुनी कारबाही अघि बढाउने योजना छ।
स्रोतका भनाइअनुसार, राहदानी रोक्ने सूचीमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको नाम स्पष्ट रूपमा उल्लेख छ। त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाको नाम समेत वाचलिस्टमा राख्ने तयारी गरिएको छ। अरू नेताहरूको हकमा भने अनुसन्धानका नतिजा हेरेर मात्र निर्णय हुने बताइएको छ।
यस विषयमा सरकारले जाँचबुझ आयोगसँग पनि परामर्श गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार राहदानी रोक्काबारे आवश्यक छलफल भइसकेको छ र प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अध्यागमन र राहदानी विभागसँग समेत परामर्श भइसकेको छ, जसमा राहदानी रोक्ने अवस्था, कानुनी आधार र आवश्यक कागजातबारे प्रष्टिकरण गरिएको थियो।
हालसम्म कसैको पासपोर्ट आधिकारिक रूपमा रोकिएको छैन तर अन्तिम निर्णय गर्ने तयारी भइरहेको बताइन्छ।
यता सम्पत्ति शुद्धीकरण विभागले शेरबहादुर देउवा, दीपक खड्का र प्रचण्डको घरमा पुगेर मुचुल्का उठाइसकेको छ। देउवा र खड्काको निवासमा जेन–जी आन्दोलनकै क्रममा प्रदर्शनकारीहरूले आगजनी गर्दा जलेका अवस्थामा नगद भेटिएको थियो। भिडियोमार्फत पैसा र सुरुङजस्तो देखिने संरचनाबारे समेत चर्चा भएको थियो। देउवा पक्षले भने सुरुङ नभई पानी ट्यांकी भएको स्पष्ट पारेको छ।
माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीको निवासमा पनि विभाग पुगेको छ। दुबै घर आन्दोलनका क्रममा जलाइएको थियो। विभागले जलेको पैसाका केही टुक्रा समेत बरामद गरेको जनाएको छ।
२०७६ को राहदानी ऐनअनुसार, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, अपहरण, लागुऔषध, हातहतियार कारोबार, आतंकवाद वा संगठित अपराधमा संलग्न भएको अभियोगमा अनुसन्धान भइरहेको व्यक्तिको राहदानी रोक्न सकिने व्यवस्था छ। अदालतले समेत मुद्दा परेको खण्डमा पासपोर्ट रोक्का गर्न आदेश दिनसक्छ।
त्यसैले अहिले अनुसन्धानको दायरामा रहेका नेताहरूको राहदानी निकट भविष्यमा रोक्किने सम्भावना बलियो देखिन्छ।











