काठमाडौं /नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साइबर अपराधसम्बन्धी मुद्दा दायर गरेको छ । महरलाई सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित नगराई फरार प्रतिवादी बनाइएको हो ।
महर ११ भदौमा पक्राउ परे पनि सोही दिन हाजिरी जमानीमा छाडिएका थिए । अदालतमा हाजिर हुने सर्तमा छाडिएका महर मुद्दा दर्ता गर्ने बेला उपस्थित नभएपछि उनी फरार प्रतिवादी बनेका हुन् ।
एक युवतीले फेसबुक लाइभमार्फत आफूमाथि चरित्र हत्या गरेको भन्दै जाहेरी दिएकी थिइन् । सुरुवातीमा प्रहरीले जाहेरी लिन अस्वीकार गरे पनि सरकारी वकिलमार्फत जाहेरी दर्ता भएको हो । महरलाई थुनामा नबसी अनुसन्धान टुंग्याइएको विषयमा प्रहरी अधिकारीहरूले समेत प्रश्न उठाएका छन् ।
त्यसैगरी पीडित महिलाले महरविरुद्ध बलात्कारसम्बन्धी जाहेरी दिएको भए पनि सरकारी वकिल कार्यालयले उक्त मुद्दा तामेलीमा राखेको छ ।











