दिपायल। पछिल्लो आठ महिनामा सुदूरपश्चिम प्रदेशमा २८८ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
निर्देशनालयका तथ्याङ्कअनुसार सबैभन्दा बढी संक्रमित कैलालीमा ६५ जना रहेका छन्। त्यसपछि अछाममा ४१ र कञ्चनपुरमा ३२ जना संक्रमित देखिएका छन्। हिमाली जिल्ला दार्चुलामा ४ जना, बाजुरामा १८ जना र बाँकी डडेलधुरा, डोटी, बझाङ र बैतडीमा जम्मा ८८ जना बिरामी फेला परेका छन्।
भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार असारदेखि कात्तिकसम्मको समयलाई डेङ्गी फैलनका लागि जोखिमपूर्ण मानिन्छ। एडिस एजिप्टाई प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले घरआँगनमा पानी जम्न नदिने जस्ता सतर्कता अत्यावश्यक हुने उनले बताए। “गमला, टायर, खाली ड्रम वा खाल्डामा जमेको पानीमा लामखुट्टेले सजिलै अण्डा दिन्छ। यस्तो सम्भावित ठाउँ खोजेर लार्भा नष्ट गर्न सके रोग नियन्त्रणमा ठूलो सहयोग पुग्छ,” उनले भने।
डेङ्गीका कारण दुई वर्षअघि सुदूरपश्चिममा तीन जनाको मृत्यु भएको स्मरण गर्दै उनले स्थानीय तह स्तरमै ‘लार्भा खोजी र नष्ट गर्ने’ अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए। यस वर्ष केही पालिकाले यसलाई प्राथमिकतामा राखेर काम पनि थालेको निर्देशनालयको भनाइ छ।
सरकारी अस्पतालमार्फत डेङ्गी बिरामीको निःशुल्क उपचार हुने व्यवस्था भए पनि नागरिकमा चेतना नपुग्दा रोग नियन्त्रणमा कठिनाइ भइरहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।











