दार्चुला / दार्चुलामा अवैध रूपमा वनलसुन भित्र्याउने क्रममा एक महिला पक्राउ परेकी छन्।
जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीकी ३१ वर्षीया धाना धामीलाई सोमबार बेलुकी सदरमुकाम खलङ्गास्थित नेपाल–भारत सीमा पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार धामीको साथबाट पाँच किलो वनलसुन बरामद भएको छ। आवश्यक अनुमति बिना भारतबाट ल्याइएको उक्त वनलसुनसहित उनलाई हिरासतमा राखिएको र डिभिजन वन कार्यालय दार्चुलाको जिम्मा लगाइने बताइएको छ।
वन कार्यालयका अनुसार राजस्व दाखिला गरी अनुमति लिएर मात्र वनलसुन संकलन तथा ढुवानी गर्न पाइन्छ।











