कञ्चनपुर — जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले गएको आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक नियम उल्लंघन गर्नेहरूबाट १ करोड २ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
वरिष्ठ नायब निरीक्षक गणेश बहादुर रावलका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने १,५६९ जना र मादक पदार्थ सेवन गरी सवारी चलाउने १,३३० जनाविरुद्ध कारबाही गरिएको थियो।
उनका अनुसार सोही अवधिमा कञ्चनपुरमा ४५२ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ३८ जनाको ज्यान गएको छ भने ७७३ जना घाइते भएका छन्।
साथै, ट्राफिक प्रहरीले सडक सुरक्षा र नियम पालना सम्बन्धी जनचेतना फैलाउन ५३३ वटा कार्यक्रम सञ्चालन गरेको र ती कार्यक्रमबाट ४३,९१४ जना लाभान्वित भएका रावलले जानकारी दिनुभयो।











