कैलाली / साउनको मधुर बिहान। कैलालीको भजनीको खेतमा हावासँगै धानका बाला लहराइरहेका छन्। खेतमा पसिना पुछ्दै सीता देवी चौधरी मुस्कुराउँदै भन्नुहुन्छ,
“यो धान त फेरीको हो नि! पहिले काटेको थियो, फेरि फुल्यो, फेरि भित्र्याउँदैछु।”
यो कुरा सामान्य जस्तो लागे पनि, भजनीका किसानका लागि यो दोस्रोपटकको चामल होइन, जिन्दगीको ढुक्क हो। वर्षा कम भयो, डुबान आएन — किसानले सास फेर्यो । सधैंझैं बर्खामा डुबानले खेत डुबाउने डर। कहिले गोठ, कहिले घर, कहिले बालीनाली सबै सखाप। तर यसपालि, आकाशले पानी जोगायो। खेतहरू शान्त रहे। अनि त्यही शान्तिमा खेतीले फेरि बाँच्ने मौका पायो।
पहिलोपटक जेठमा काटिएको धानको बोटबाट फेरि नयाँ टुसा फूटे। अनि आज त्यो टुसा पकेर फेरी धान बनेर खेतैभरि लहराइरहेको छ।
किसान जयप्रसाद ढुङ्गाना बताउनुहुन्छ —“म त ढाइ बिघा खेतमा केही नगरीकन १२ क्विन्टलभन्दा बढी धान पाएको छु। न मल हालियो, न गोडमेल। प्राकृतिक रूपमा फेरी फलेको हो यो।”
यो दोस्रोपटकको फसल भनेको लगानीविहीन लाभ हो। त्यसैले किसानहरूलाई झन् मिठो लागिरहेको छ।
भजनीका बुद्धिराम थारू भन्नुहुन्छ,“अब किसानले चैते धानमै ढुक्क पाएका छन्। बर्खेमा त लगानी डुब्छ कि भन्ने डर। चैतेले त बिना डर, बिना खर्च फाइदा दिइरहेको छ।”
किसानहरूले बर्खे धानमा सोचेर लगानी गर्छन्, तर चैतेमा लगानी गरे पछुताउनु परेको छैन। बरु उल्टै, कम स्याहारमा पनि उत्पादनले आश्चर्यचकित बनाइरहेको छ।
भजनी क्षेत्र अहिले चैते धान विस्तारको प्रयोगशाला बनिरहेको छ। कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले यसमा साथ दिएको छ।
एकाइ प्रमुख गोविन्दराज जोशी भन्छन्,“यो दोहोरो फसल सामान्य कुरा होइन। हामीले अध्ययन गर्नुपर्ने कुरा हो। यदि प्राविधिक रूपमा बलियो साथ दिन सकियो भने किसानको जीवनस्तर नै बदलिन सक्छ।”
भजनीका किसानले वर्षौँदेखिको डर, डुबान र ध्वस्त बालीको तीतो अनुभवपछि चैते धानबाट मिठास पाएका छन्। दोस्रोपटक फलेको धानले न केवल पेट, तर आत्मा पनि भरिएको छ।











