कञ्चनपुर, पछिल्ला तीन घण्टामा देशभरकै सबैभन्दा धेरै वर्षा कञ्चनपुरमा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको महेन्द्रनगरस्थित हनुमाननगर वर्षा मापन केन्द्रमा ४८.८ मिलिमिटर वर्षा रेकर्ड गरिएको हो।
विभागले लगातारको वर्षाका कारण थप पानी पर्ने सम्भावना रहेको भन्दै सर्तक रहन आग्रह गरेको छ।
विभागद्वारा जारी सूचनामा कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही भू–भागमा तथा गण्डकी प्रदेशका एक–दुई ठाउँमा हाल हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ। कतिपय क्षेत्रमा मेघगर्जन र चट्याङसमेत देखिएको छ।
मौसम विभागले आगामी केही घण्टासम्म वर्षा जारी रहने सम्भावना औंल्याउँदै बाढी, पहिरो र जलमग्न क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।











