कैलाली — सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाबाट उत्पन्न कुरीति र जातीय विभेदविरुद्ध जनचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।
प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको छाउपडी प्रथाजन्य कुरीति उन्मूलन प्रदेश सुपरिवेक्षण तथा निर्देशन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा सामाजिक कुरीति विरुद्ध प्रभावकारी जनचेतना कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए।
छाउगोठमै सर्पले डसेर युवतीको मृत्युपछि निर्णय तीव्र
गत साता कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ की २८ वर्षीया कमला आउजी दमाईको छाउगोठमा बसेको अवस्थामा सर्पले डसेर मृत्यु भएको घटनालाई गम्भीरतापूर्वक लिँदै बैठकमा सो निर्णय गरिएको हो।
बैठकले सामाजिक विभेद, छुवाछुतयुक्त व्यवहार, र छाउगोठ उन्मूलनको कार्यलाई थप प्रभावकारी बनाउँदै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।
छाउपडी प्रथाजन्य कुरीति उन्मूलनसम्बन्धी नीति तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न प्रदेश, जिल्ला र स्थानीय तहस्तरीय समितिहरूको नियमित बैठक तथा अनुगमन गरिने निर्णय पनि बैठकले गरेको छ।
सरकारले अब सामाजिक रूपान्तरणका कार्यक्रमहरूलाई स्थानीय समुदायसम्म पु-याउँदै गम्भीर रूपमै लैजाने संकेत दिएको छ।











