भाेटेकाशी / असार २४ गते राति भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण फसेका ४८५ जनाको सकुशल उद्धार गरिएको छ। सशस्त्र प्रहरीसहित नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा स्याफ्रुबेशी–रसुवागढी सडकखण्डमा अस्थायी पदमार्ग निर्माण गरी उद्धार कार्य सम्पन्न गरिएको हो।
सशस्त्र प्रहरीका नायब उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार, उद्धार गरिएकामध्ये ५० जना नेपाली, १ जना चिनियाँ र ४ जना भारतीय नागरिक रहेका छन्।
त्यसैगरी, बाढीका कारण जोखिममा परेका थप १६५ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
बाढीले ठूलो भौतिक क्षति पनि पुर्याएको छ। रसुवागढीको भन्सार यार्डमा फसेका दुई कन्टेनर र एक इभी गाडीलाई सुरक्षित स्थानमा सारिएको छ। तर, अझै पनि तीन सुरक्षाकर्मी, १४ नेपाली र ६ चिनियाँ नागरिक बेपत्ता छन्। हालसम्म ४ जनाको शव फेला परेको छ भने अन्य पाँचवटा मानव अंग मात्र भेटिएको प्रहरीले जनाएको छ। फेला परेका शव तथा अंगहरू त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ।
बाढीको कारण रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुलमा क्षति पुगेको छ, जसका कारण नेपाल–चीन भन्सार नाका पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा विद्युत् आपूर्ति समेत अवरुद्ध भएको छ।
भोटेकोशी बाढीले ४२ वटा इभी गाडी, २३ वटा कन्टेनर ट्रक, ६ वटा ट्रक, ८ वटा हेभी इक्युपमेन्ट, ३० वटा वेल्डिङ मेसिन, २० वटा ग्रान्डिङ मेसिन, लोडर, एक्जाभेटर लगायतका सामग्री बगाएको छ।
यसका साथै, भन्सार क्षेत्रको इभी चार्जिङ स्टेसन, रसुवागढी जलविद्युत आयोजनाको ड्याम, हेडबक्स, लेबर क्याम्प तथा चिलिमे जलविद्युत आयोजनाको सुरुङ मार्गमा समेत गम्भीर क्षति पुगेको छ।











