धनगढी – लगातारको भारी वर्षापछि डुबानमा परेका आठ जनाको उद्दार गरिएको छ। धनगढी उपमहानगरपालिका–७ स्थित बेली गाउँमा सिताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उनलाईसहित परिवारका चारजनालाई उद्दार गरेर नजिकैका आफन्तको घरमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए।
त्यस्तै, धनगढी–१३ श्रीलंकास्थित भागीराम चौधरीका परिवारका चारजनाको उद्दार गरेर स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार वर्षाका कारण धनगढी उपमहानगरपालिका–१, २, ३, ४, ५, ७, ८ र १० नम्बर वडाका झन्डै एक हजार घरमा पानी पसेको छ। यद्यपि हालसम्म ठूलो क्षति नभएको उनले बताए।
यदि सोमबार साँझसम्म भारी वर्षा निरन्तर भएमा थप मानिस प्रभावित हुनसक्ने भएकाले त्यसअनुसार तयारी गरिएको जोशीले बताए।











