डोटी, असार १४ – माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ मा डोटीकी कञ्चन पालीले ३.९६ जिपिए ल्याएर जिल्लामै सर्वोच्च नतिजा हासिल गर्दै ‘डोटी जिल्ला टपर’ बनेकी छन्। पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय, सिलगढीकी छात्रा पालीले डोटीको शैक्षिक इतिहासमै उदाहरणीय सफलता हात पारेकी हुन्।
शिक्षा विकास तथा समन्वय इकाइ डोटीका निमित्त इकाई प्रमुख ममता पालका अनुसार जोरायल गाउँपालिका–४, बिनोडा निवासी पालीले जिल्लामै अहिलेसम्मकै उत्कृष्ट ग्रेड प्राप्त गरेकी हुन्। विद्यालयका प्रधानाध्यापक केशव ओझाले कञ्चनको सफलता विद्यालय र सम्पूर्ण डोटीका लागि प्रेरणादायी भएको बताए।
एसइई परीक्षामा दोस्रो स्थान राधाकृष्ण माध्यमिक विद्यालय, गोपघाटका निराजन बलायरले ३.९२ जिपिए ल्याएर हासिल गरेका छन्। तेस्रो स्थानमा केदारेश्वर माध्यमिक विद्यालय, कपल्लेका वैभव कार्की ३.९० जिपिएसहित रहेका छन्।
गत चैत्र ७ गतेदेखि सञ्चालन भएको एसइई परीक्षामा डोटीबाट नियमिततर्फ ३,०३५ जना, आ.व. २०७८/०७९ अघि ग्रेडवृद्धितर्फ १९ जना र आ.व. २०८० को ग्रेडवृद्धितर्फ १,०२१ जना परीक्षार्थी सहभागी भएका थिए।











