कञ्चनपुर —खैरो हेरोइन मुद्दामा जिल्ला अदालत कञ्चनपुरबाट कैद सजाय तोकिएपछि ‘छुट्टी मनाउन’ फरार रहेका कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका दुई युवक अन्ततः आफ्नै घरबाट पक्राउ परेका छन्।
अदालतले २०८१ पुस ५ गतेको फैसलामा २२ वर्षीय भरत रोकायालाई १ महिना र २७ वर्षीय हरिश कुवरलाई ९ दिन कैद सजाय तोकेको थियो। तर सजायको खबरले ती युवकहरूलाई जेल होइन, घरमै ‘लकडाउन’मा बस्न प्रेरित गर्यो।
तर उनीहरूकै छानामा बसेर प्लान बनाइरहेका बेला, इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोष्ट गजरौलाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ढोका ठोकेर “सरप्राइज विजिट” गरेको हो।
प्रहरीका अनुसार दुबै जना बुधबार बिहान आफ्नै घरमा ‘निन्द्रामा’ पक्राउ परेका हुन्। अब उनीहरूले बाँकी छुट्टी प्रहरी हिरासतमा बिताउने छन्।











