असार ६, सिलगढी । डोटी जिल्लाको आदर्श गाउँपालिका–१ दोबाजमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।
शुक्रवार दिउँसो दिपायल–मौवा–मेल्लेख सडकखण्ड अन्तर्गत सुप्रप ०१००१ ज १३९५ नम्बरको जिप सडकबाट करिब २५० मिटर तल खस्दा दुःखद दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनास्थलमै दुई जनाको मृत्यु भएको हो। घाइते चार जनालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारका लागि पठाइएको छ। हाल मृतक र घाइतेको पहिचान खुल्न सकेको छैन।
घटनास्थलमा प्रहरी निरीक्षक राजेन्द्र चन्दको कमान्डमा प्रहरी टोली परिचालन गरिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











