कैलाली, असार ४। जिल्ला कारागार, कैलालीमा रहेका कैदीबन्दी हरिशसिंह पालीको रहस्यमय मृत्यु भएपछि छानबिनका लागि समिति गठन गरिएको छ। छानबिन समिति कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा गठन गरिएको हो।
समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि, प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवलदार नरेश साउँद तथा डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य रहेका छन्। प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन्।
डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय पालीको सोमवार राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। उनलाई बैंकिङ्ग कसुरमा फागुन २९ गते कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना तोकेको थियो। सो सजाय कार्यान्वयन गर्न पालीलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो। तर, पक्राउपछिको दुई दिनमै उनको मृत्यु भएको हो।
पालीको शरीरमा चोटपटक देखिएको भन्दै पीडित परिवारले हत्या भएको आशंका गरेका छन्। निष्पक्ष छानबिनको माग गर्दै परिवारले शव लिन अस्वीकार गरेका छन्। घटनाप्रति आक्रोशित परिवारजनले बुधवार डडेल्धुरामा बजार र सडक बन्द गराएका थिए।











