डोटी, जेठ २३ – डोटी जिल्लाको जोरायल गाउँपालिका–२ स्थित अठासी मोड भिमदत्त राजमार्गमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।
आज दिउँसो करिब २ बजेकाे समयमा सिलगढीबाट धनगढीतर्फ जाँदै गरेको से १ ब ६५४ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते हुनेमा डोटी दिपायल सिलगढी नगरपालिका–७, पाकरीका ३८ वर्षीय कर्णबहादुर विष्ट र साेही ठाउँ वडा नम्बर ६ बस्ने ४३ वर्षीय अनिल कुमार जोशी रहेका छन् ।
त्यस्तै विपरित दिशाबाट आइरहेको सुदूरपश्चिम प्रदेश ०१०१२ प ६८७३ नम्बरको माेटरसाइकलमा घाइते हुनेमा डडेल्धुरा नवदुर्गा गाउँपालिका–१ निवासी २६ वर्षीय करुणाकर धिक्त, उनीसँगै सवार १८ वर्षीय सन्तोष धिक्त रहेका छन् ।
विष्ट र धिक्तले चलाएको माेटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घाइतेहरूलाई उपचारका लागि नजिकैको छतिवन स्वास्थ्य चौकी, बुडरमा पुर्याइएको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको डोटी प्रहरीले जानकारी दिएको छ।











