धनगढी, जेठ २० — सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीले सुदूरपश्चिमको पर्यटन क्षेत्रलाई नयाँ सोच र योजनासहित अघि बढाउने घोषणा गर्नुभएको छ।
‘प्रकृतिप्रेमीका आँखामा सुदूरपश्चिम’ कार्यक्रममा बोल्दै मन्त्री चौधरीले खप्तड, वडीमालिका, रामारोशन जस्ता क्षेत्रलाई विशेष प्राथमिकतासहित नयाँ मोडेलमा विकास गर्न लागिएको जानकारी दिनुभयो। उहाँले कैलालीको भजनी–टीकापुर क्षेत्र हुँदै बग्ने मोहना र कर्णाली नदीमा पाइने दुर्लभ डल्फिनको संरक्षण र प्रचारका लागि डल्फिन पार्कको सम्भाव्यता अध्ययन थालिने घोषणा गर्नुभयो।
मन्त्री चौधरीका अनुसार अहिलेको ५५ करोड बजेटले पर्यटन र उद्योग दुवै क्षेत्रमा काम गर्न कठिन भएको छ। बजेट अभावका कारण धेरै सम्भावना रोकिएको भन्दै उहाँले मुख्यमन्त्री र अर्थमन्त्रीसँग बजेट वृद्धि माग गरेको जानकारी दिनुभयो।
उहाँले भारतीय पर्यटकलाई ट्राफिक प्रहरीले बारम्बार चेकजाँच गरेर हैरानी दिँदै आएको भन्दै चेकपोस्टको अनावश्यक आतंक हटाउन प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिइएको पनि बताउनुभयो।
मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले सुदूरपश्चिममा माउन्टेन फ्लाइट, केबुलकार र इको टुरिजमजस्ता वैकल्पिक पर्यटनको सम्भावनातर्फ ध्यान दिनुपर्ने बताए। कार्यक्रममा सहभागी अधिकांशले पर्यटनलाई उद्योग, वनजस्ता अन्य क्षेत्रसँग मिसाएर राख्दा ओझेलमा परेको भन्दै छुट्टै मन्त्रालय गठन गर्न माग गरे।
प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशी, एमालेका प्रमुख सचेतक चक्र मल्ल, पर्यटन व्यवसायी मायाप्रकाश भट्ट लगायतले छुट्टै मन्त्रालय नभएसम्म पर्यटनले गति नलिने तर्क गरे। केही सहभागीले पर्यटन उपसचिव तहमै भए पनि अलग रूपमा व्यवस्थापन गर्नुपर्ने धारणा राखे।
पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिमलाई ‘देवभूमि’ को रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो। माओवादी नेता खगराज भट्टले राजनीतिक नेतृत्व र कर्मचारी इमान्दार भए मात्र पर्यटनले गति लिने बताए।
क्याप्टेन वेद उप्रतीले डल्फिन सेन्टर, खप्तडमा स्की खेल तथा शुक्लाफाँटामा विशेष ढंगले बाह्रसिंगा देखाएर रोजगारी सिर्जना गर्न सकिने सुझाव राख्नुभयो। व्यवसायी ओम विष्टले डल्फिन संरक्षणका लागि दिगो योजना आवश्यक रहेको औंल्याउनुभयो।
पर्यटनकर्मी गणेश मगरले क्षेत्रको प्रचारप्रसार, पूर्वाधार, नक्सा, शौचालय तथा ड्रोन अनुमति जस्ता प्राविधिक समस्याले पर्यटक टुटेको बताए।
वनस्पति अध्ययन केन्द्र, कैलालीका प्रमुख गंगादत्त भट्टले सुदूरपश्चिम क्षेत्र जडीबुटी र वनस्पतिका हिसाबले अझै ‘भर्जिन’ रहेको बताउँदै यसको वैज्ञानिक उपयोग र अनुसन्धानमा लगानी हुनुपर्नेमा जोड दिनुभयो।











