सिलगढी / संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा डोटी जिल्लाका नौवटै स्थानीय तहलाई जम्मा तीन अर्ब ५३ करोड १२ लाख रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ। संघीय संसद्मा प्रस्तुत बजेट वक्तव्यअनुसार समानीकरण, विशेष, सशर्त र समपूरक गरी चार खालका अनुदानमार्फत सो रकम प्रदान गरिनेछ। समानीकरण अनुदानलाई तीन भाग—न्यूनतम, सूत्रमा आधारित, र कार्यसम्पादनमा आधारित—मा विभाजन गरिएको छ।
दुई नगरपालिकाका लागि एक अर्ब २० करोड
डोटीका दुई नगरपालिकाले जम्मा एक अर्ब २० करोड ६१ लाख रुपैयाँ अनुदान पाउनेछन्। जसमध्ये दिपायल सिलगढी नगरपालिकाले चालु खर्चतर्फ ३९ करोड ४० लाख र पुँजीगततर्फ २८ करोड १९ लाख गरी कुल ६८ करोड १९ लाख पाउनेछ।त्यस्तै शिखर नगरपालिकाले चालुतर्फ ४५ करोड २५ लाख र पुँजीगततर्फ ७ करोड १७ लाख गरी ५२ करोड ४२ लाख अनुदान प्राप्त गर्नेछ।
सात गाउँपालिकालाई दुई अर्ब ३२ करोड
डोटीका सातवटा गाउँपालिकालाई जम्मा दुई अर्ब ३२ करोड ५१ लाख रुपैयाँ अनुदान विनियोजन गरिएको छ, जसमा चालुतर्फ दुई अर्ब ६ करोड ६७ लाख र पुँजीगततर्फ २५ करोड ८४ लाख रहेको छ।
गाउँपालिकागत विवरण यस्तो छ
आदर्श गाउँपालिका: चालु २८ करोड ९७ लाख, पुँजीगत ९ करोड १८ लाख – ३८ करोड १५ लाख
के.आई. सिंह गाउँपालिका: चालु २७ करोड ६५ लाख, पुँजीगत ३ करोड ३५ लाख – ३१ करोड
जोरायल गाउँपालिका: चालु ३८ करोड १५ लाख, पुँजीगत २ करोड ७८ लाख – ४० करोड ९३ लाख
पूर्वीचौकी गाउँपालिका: चालु ३० करोड ७९ लाख, पुँजीगत ४ करोड ९१ लाख – ३५ करोड ७० लाख
बडीकेदार गाउँपालिका: चालु २८ करोड २ लाख, पुँजीगत १ करोड ३ लाख – २९ करोड ५ लाख
बोगटान फुड्सिल गाउँपालिका: चालु २९ करोड १४ लाख, पुँजीगत २ करोड ३४ लाख – ३१ करोड ४८ लाख
सायल गाउँपालिका: चालु २३ करोड ९५ लाख, पुँजीगत २ करोड १५ लाख – २६ करोड १० लाख
त्यस्तै समग्रमा जिल्लाकाे कुल अनुदानमध्ये चालु खर्चतर्फ दुई अर्ब ९१ करोड ३२ लाख (८२.४९%) र पुँजीगत खर्चतर्फ ६१ करोड ८० लाख (१७.५१%) विनियोजन गरिएको छ।











