डोटी, जेठ १८ – डोटीमा हावाहुरीका कारण एक पसलमा ठूलो क्षति भएको छ। जिल्लाकाे के.आई.सिंह गाउँपालिका–४ वायल बजारमा रहेको ‘भट्ट मोबाइल एण्ड फोटो स्टुडियो’ को छाना हावाहुरीले उडाएपछि पसलभित्र रहेका कम्प्युटर, मोबाइल, क्यामरा लगायतका विद्युतीय सामग्रीहरू पानीले भिजेर नष्ट भएका छन्।
आज दिउँसो करिब ४:३० बजेको समयमा वर्षासहित आएको हावाहुरीले गोविन्द भट्टले सञ्चालन गर्दै आएको जस्ताले छाएको एक तले एक कोठे पसलमा क्षति पुर्याएको हो। प्रारम्भिक अनुमानअनुसार करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ।
घटनास्थलमा प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) कुलविर बोहराको कमाण्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले स्थलगत अनुसन्धान गरेको छ। घटनामा मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीको भनाइ छ।











