सिलगढी — सुदूरपश्चिमको कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली नदीको किनारैकिनार बन्न लागेको महाकाली करिडोरले यस क्षेत्रको आर्थिक, सामाजिक र पर्यटकीय विकासमा नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास लिइएको छ।
दार्चुलाको मालिकार्जून गाउँपालिका–५ का नरेश अवस्थी भन्छन्, “त्रिदेशीय नाका तिङ्करसम्म करिडोर बने चीन र भारतसँग व्यापार सहज हुनेछ, रोजगारीका अवसरहरू पनि बढ्नेछन्।” लामो समयदेखि शिक्षण पेशामा रहेका अवस्थी अहिले कृषि व्यवसायमा लागिरहेका छन्।
दार्चुलादेखि कञ्चनपुरको ब्रह्मदेवसम्म बन्ने यो करिडोरले भारत र चीनको सीमासम्म सिधा पहुँच दिनेछ। दार्चुलाका स्थानीय जनप्रतिनिधिहरू करिडोरले दुर्गम बस्तीहरूलाई सडक सञ्जालमा जोड्ने विश्वास व्यक्त गर्छन्। वडा अध्यक्ष मदन चन्दका अनुसार, “घुमाउरो बाटोको सट्टा छोटो दूरीमा आवतजावत सम्भव हुनेछ, आर्थिक गतिविधिमा पनि विस्तार आउनेछ।”
दार्चुलाका अर्का स्थानीय कोमल विष्टले करिडोरले धार्मिक पर्यटनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे। “परशुरामधाम, त्रिपुरा सुन्दरी, मालिकार्जुनधामजस्ता धार्मिक स्थलसँग जोडिँदा आन्तरिक तथा भारतीय पर्यटकहरू बढ्नेछन्,” उनले बताए।
करिडोर निर्माणमा प्रगति, तर चुनौती बाँकी
ब्रह्मदेवदेखि तिङ्करसम्म कुल ३३४ किमी दूरीमा निर्माणाधीन करिडोरमध्ये हालसम्म २३० किमी ट्र्याक खोलिएको छ। योजना कार्यालयका अनुसार, कञ्चनपुरमा ११ किमी, डडेल्धुरामा २८ किमी, बैतडीमा ११४ किमी र दार्चुलामा ७७ किमी ट्र्याक खुलिसकेको छ।
सूचना अधिकारी रामचन्द्र जैशीका अनुसार, “निर्माणमा ढिलाइको मुख्य कारण बजेट अभाव र रुख कटानजस्ता प्रक्रियागत समस्या हुन्।” चालु आर्थिक वर्षका लागि ४१ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भए पनि त्यसमा १७ करोड गत वर्षको भुक्तानीमा खर्चिएको बताइएको छ।
समृद्धिको आधारभूत पूर्वाधार
महाकाली करिडोरसँगै महेन्द्रनगरमा निर्माणाधीन चार लेनको पक्की पुल र दोधारा चाँदनी सुख्खा बन्दरगाहले व्यापारिक क्रियाकलापलाई थप गति दिने व्यवसायीहरूको अपेक्षा छ।
सरकारको अनुमानअनुसार, करिब एक करोड जनता प्रत्यक्ष लाभान्वित हुनेछन्। साथै, चीनको ताक्लाकोट हुँदै कैलाश मानसरोवर यात्रामा जाने छोटो मार्गको रूपमा प्रयोग हुने भएकाले धार्मिक पर्यटनमा पनि उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ।











