कञ्चनपुर, कहिल्यै सोचिएको थियो त — किशोरीहरूको आत्मविश्वास, व्यवहार र भविष्यलाई नैतिक शिक्षाले परिवर्तन गर्न सक्छ भनेर?
शुक्लाफाँटा नगरपालिकाको महिला तथा बालबालिका शाखाले यही सम्भावनामा विश्वास राख्दै अब किशोरीहरूलाई केवल किताबको ज्ञान होइन, जीवन जिउन जान्ने शिक्षा दिन थालेको छ। नगरका विभिन्न वडामा, एउटै छातामुनि जम्मा भएका छन् किशोरीहरू, अभिभावकहरू, शिक्षकहरू — जहाँ दिइन्छ जीवनोपयोगी नैतिक शिक्षाको सन्देश।
शाखा प्रमुख कमला जोशी भन्छिन्, “जीवन केवल पास हुनुपर्ने परीक्षा होइन, मूल्य, व्यवहार, निर्णय र जिम्मेवारी बुझ्नुपर्ने पाठशाला हो।”
उनको भनाइ अनुसार यो कार्यक्रमले किशोरीहरूलाई आत्मनिर्भर, आत्मविश्वासी र विवेकशील नागरिकको रूपमा तयार पार्न मद्दत गर्दैछ।
सम्भावनाको बीउ: सकारात्मक दृष्टिकोणको खेती
सफलता मात्र होइन, असफलताको क्षण पनि सघर्षका कथा हुन्। यही सोच बोकेर किशोरीहरूलाई अहिले सिखाइँदैछ — प्रयास कहिल्यै रोकिनु हुँदैन।
जोशीकै शब्दमा, “सकारात्मक सोचले मानसिक स्वास्थ्य जोगाउँछ, समाजसँग जोडिन्छ, जीवनमा उज्यालो थप्छ।”
हिंसा विरुद्धको सन्देश: परिवारबाटै सुरु
नगर उपप्रमुख कल्पना पन्तको नजरमा, समाजमा अझै किशोरीहरू ‘अदृश्य हिंसा’ को सिकार छन् — जुन कहिलेकाहीँ प्रेमको मुखौटा लगाएर आउँछ।
“पितृसत्तात्मक सोचका कारण कमजोरमाथि हुने दमन हिंसा हो,” उनले भनिन्, “त्यसविरुद्ध चेतना जगाउन अभिभावक नै अगाडि आउनुपर्छ।”
कार्यपालिका सदस्य भुमा चन्द अझ गहिरो संकेत गर्छन्: “बाल्यकालका घाउहरू शरीरले होइन, मस्तिष्कले बोक्छ। ती घाउहरू भविष्यमा व्यवहार बन्ने खतरा बोकेर आउँछन्।” त्यसैले, प्रारम्भिक उमेरमै नैतिक शिक्षा — कुनै विकल्प होइन, आवश्यकता हो।
एक झिल्को आशा: पाठ्यक्रममै परिवर्तनको योजना
नगरप्रमुख रणबहादुर महराले आधारभूत तहकै पाठ्यक्रममा नैतिक शिक्षालाई प्राथमिकतामा राखेर पुस्तक बनाउने तयारीको घोषणा गरेका छन्।
“सदाचार, संघर्षका प्रेरक कथा, जीवनका मूल्य–मान्यता पाठ्यपुस्तकमा समेट्नेछौँ,” उनी भन्छन्, “जसले बालबालिकालाई जिम्मेवार नागरिक बनाउने बिउ रोप्नेछ।”
तीन सयभन्दा बढी सहभागी: एउटा सशक्तिकरणको यात्रा
हालसम्म तीन सयभन्दा बढी किशोरी, अभिभावक र बालबालिकाले यो कार्यक्रमबाट मार्गदर्शन पाइसकेका छन्। तर यो संख्या होइन, सोचको परिवर्तन हो — जुन एक पुस्ताबाट अर्को पुस्तासम्म फैलँदै जानेछ।











