कञ्चनपुर,कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित ४ नम्बर गल्ली नजिक भित्री सडकमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।
उत्तरबाट दक्षिणतर्फ गइरहेको से २ त २५३ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आइरहेको से ३ प ४९७५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक २३ वर्षीय आशिक राना गम्भीर घाइते भएका थिए। कृष्णपुर नगरपालिका–२ बाणी शिविर निवासी रानालाई उपचारका लागि मायामेट्रो अस्पताल, धनगढी पठाइएको थियो। तर, बुधवार राति ९ बजे नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ निवासी १७ वर्षीय विक्रम चौधरी घाइते भएका छन्। उनको हाल सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न ट्याक्टर र चालक ४५ वर्षीय तेजबहादुर डगौरा (कृष्णपुर नगरपालिका–४, बेलकुण्डी)लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।











