डोटी — डोटीको बडीकेदार गाउँपालिका–३ स्थित घागल बजारमा लुकाएर राखिएको ८० लिटर अवैध घरेलु मदिरा प्रहरीले ड्रमसहित बरामद गरी नष्ट गरेको छ।
बडीकेदार गाउँपालिकाको संयुक्त बजार अनुगमन टोली र प्रहरीको सक्रियतामा उक्त मदिरा बरामद गरिएको हो। प्रहरी चौकी घागलका इन्चार्ज पदमराज भट्टका अनुसार दुईवटा ठूला ड्रममा लुकाइएको अवस्थामा घरेलु मदिरा भेटिएको थियो।
“शारीरिक, मानसिक स्वास्थ्यमा क्षति त गर्छ नै, पछि समाजमा नाटक पनि यिनैबाट सुरु हुन्छ,” भन्दै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पालले मदिरा विरुद्धको अभियानलाई सशक्त रूपमा अघि बढाइरहेको जानकारी दिए।
बरामद गरिएको अवैध मदिरा जनप्रतिनिधि, स्थानीय बासिन्दा र पत्रकारहरूको रोहबरमा नष्ट गरिएको प्रहरी स्रोतले जनाएको छ।











