डाेटी / डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ विशाल बजारस्थित गणेश खड्काको एकतले जस्तापाताले बनेको तीनकोठे होटलमा आज (आइतबार ) आगलागी भएको छ।
दिउँसो करिब २:४५ बजे ग्यास सिलिन्डरको रेगुलेटरबाट ग्यास लिक भई आगलागी भएको डाेटी प्रहरीले जनाएको छ । आगलागीका कारण होटल भित्र रहेका दुई थान ग्यास चुलो, लत्ताकपडा, खाद्यान्न, भाँडावर्तन तथा काठका फर्निचर जलेर नष्ट भएका छन्।
आगलागीबाट करिब ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। यद्यपि, घटनामा कुनै मानविय वा चौपायाको क्षति नभएको जनाइएको छ।
प्रहरी निरीक्षक ईश्वरी दत्त पाण्डेयको कमान्डमा खटिएको पाँच जनाको प्रहरी टोली तथा स्थानीय बासिन्दाहरूको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।











