वासिङ्टन — अमेरिकाका मिसौरी र केन्टुकी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा २१ जनाको ज्यान गएको छ। आँधीका कारण दुवै राज्यमा गरी दुई लाखभन्दा बढी मानिसहरू विद्युत् सेवाबाट वञ्चित भएका छन्।
केन्टुकीका गभर्नर एन्डी बेशियरले स्थानीय अधिकारीहरूको हवाला दिँदै केन्टुकीमा १४ र मिसौरीमा ७ जनाको मृत्यु भएको जानकारी दिएका छन्। केन्टुकीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने लरेल काउन्टीमा शनिबार बिहान आँधी आएको थियो। अधिकारीहरूले मृतक संख्या अझै बढ्न सक्ने बताएका छन्।
मिसौरी राज्यमा शुक्रबार आएको आँधीबेहरीका कारण पाँच हजारभन्दा बढी भवन क्षतिग्रस्त भएका छन्। कयौं घरका छाना उडेका छन् भने विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ।
सेन्ट लुइस क्षेत्रमा मात्र करिब एक लाख घरधुरी विद्युत् कटौतीका कारण प्रभावित भएका छन्। अग्नी नियन्त्रण विभागका अनुसार सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा उद्धार र निरीक्षण कार्य तीव्र पारिएको छ।











