कैलाली,
कैलाली जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइन जस्तो लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
बर्दगोरीया गाउँपालिका–२, बौनिया बजारमा बिहीबार साँझ साढे चार बजे प्रहरीले १ ग्राम २०० मिलिग्राम खैरो हेरोइनसहित २१ वर्षीय उमेश ताम्राकार र २१ वर्षीय विवेक सोनीलाई पक्राउ गरेको छ। उमेश ताम्राकारले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००९ प १२२७ नम्बरको मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। अहिले उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ।
यस्तै, धनगढी उपमहानगरपालिका–१०, जुगेडाबाट पनि २२ वर्षीय कमल रानालाई प्रहरीले २ ग्राम ७१० मिलिग्राम खैरो हेरोइन जस्तो धुलो पदार्थसहित पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले रानालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।











