डोटी, जेठ १ – डोटी जिल्लाको जोरायल गाउँपालिका–१ काफलडाँडामा गएराति ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार राति करिब १०:३० बजे धनगढीबाट बझाङतर्फ जाँदै गरेको से १ ख ३७९३ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको म ३ प १५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकल चालक डोटी, जोरायल गाउँपालिका–१ बेल्चापलान निवासी २२ वर्षीय ज्ञानेन्द्र ओलीको टाउको र दाहिने हातमा मध्यम चोट लागेको छ।
उक्त मोटरसाइकलमा पछाडि सवार डडेल्धुरा, आलिताल गाउँपालिका–१ पिपलमारे निवासी २१ वर्षीय विशाल ओलीको अनुहारमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घाइते दुवै जनालाई तत्कालै उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक चालक डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाका २७ वर्षीय मिन ब. देउवा रहेका छन्।











