सिलगढी /डोटीको आदर्श गाउँपालिका ४ पातलमा कुटपिट हुँदा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार, दुबै जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।
घटना बैशाख २८ गते आइतबार राती अन्दाजी पौने एघार बजेको समयमा पातल गाउँमा बस्ने ३१ वर्षीय अशोक रोकायालाई अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी टाउको र शरिरका विभिन्न भागमा चोट पुर्याएपछि घाइते अवस्थामा फेला पारेका थिए। घटनास्थलमा ११ बजेतिर सोही पातल गाउँका ३०/३२ वर्षीय सन्तोष भाटको मोबाईल फेला परेको थियो। यसपछि, अशोक रोकायाका आफन्तहरूले सन्तोष भाटले नै कुटपिट गरेको आशंका गर्दै उनलाई आदर्श गाउँपालिका ४ को देहिमाण्डौबाट नियन्त्रणमा लिएका थिए।
सन्तोष भाटको बोलेरो जिप (सु.प.प्र. ०१ ००१ च ४११८) मा तोडफोड र आगजनी गरी पूर्ण रुपमा क्षति पुर्याइएको पनि प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थाहा पाएपछि, प्रहरी निरिक्षक राजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको टोलीले घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि दिपायलतर्फ पठाएको थियो। अशोक रोकायालाई राती सवा एक बजेतिर सुजङ अस्पताल राजपुर डोटीमा र सन्तोष भाटलाई राती डेढ बजेतिर जिल्ला अस्पताल डोटीमा उपचारका लागि पठाइएको छ।
घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।











