डोटी । डोटीको सायल गाउँपालिका–१ छपालीमा प्रसुती गृहको भवन निर्माण कार्य लामो समयदेखि अलपत्र परेको छ । प्रसूति गृहको भवन निर्माण कार्य अलपत्र परेपछि गर्भवती तथा सुत्केरी महिलाहरु पुरानो जीर्ण भवनबाट स्वास्थ्य सेवा लिन बाध्य भएका छन् ।
सेवा प्रवाह गर्नका लागि उपयुक्त र पर्याप्त भवन नहुँदा भूकम्पले क्षतबिच्छेद् बनाएको टिनको छानो भएको पुरानो भवनबाट सबै खाले स्वास्थ्य सेवा दिइरहेको छपाली स्वास्थ्यका चौकीका ईन्चार्ज स्वास्थ्य सहायक पुनम भट्ट बताउँछिन् । भवन अभावकै कारण सेवा प्रवाहमा समस्या भइरहेको उनको भनाई छ ।
भवनको विषयमा आफूले पटक–पटक गाउँकार्यपालिको बैठकमा आवाज उठाउँदा पनि कुनै सुनुवाई नभएको बताउँछन् सायल गाउँपालिका–१ का वडाध्यक्ष लाल बहादुर रोकाया ।
उनले भने ‘निर्माण व्यवसायीले कि त समयमै बनाइ दिनुपर्छ, होइन भने हामीलाई भवन निर्माणको बाँकी काम आफ्नै तरिकाले काम गर्न पाउने वातावरण निर्माण गरिदिनुपर्छ ।’ गाउँपालिकाले पनि हालसम्म सम्झौता अनुसार कानुनी जटिलता रहेको र रद्द गर्दा पनि बजेट ब्यवस्थापन गर्न गाह्रो हुने भन्दै कुनै निकास दिन नसकेको वडाध्यक्ष रोकायाको गुनासो छ ।
उक्त भवन निर्माणका लागि २०७८ साल फागुन ११ गते सायल गाउँपालिका र निर्माण व्यवसायी कम्पनी भैरव शक्ति निर्माण सेवाबीच सम्झौता भएको थियो । कूल ४० लाख ८० हजार ७ सय ९९ रुपयाँ लागतमा २०८० साल असार मसान्तभित्र निर्माण कार्य सम्पन्न गरिसक्ने गरी निर्माण व्यवसायीले कवोल गरेका थिए । तर उक्त भवनको हालसम्मको भौतिक प्रगति करीव ७० प्रतिशत मात्रै छ ।
भवन निर्माण गर्दा स्थानीय कामदारहरुले काम गरेको ज्याला समेत नपाएको गुनासो गरेका छन् । भवनको लागि ढुङ्गा निकालेबापत धन बहादुर रोकायाको समूहले पाउनुपर्ने १ लाख ५० हजार रुपयाँ पाएको छैन ।
त्यस्तै, भवन प्लास्टर गरेबापत बीरबहादुर रोकायाको समूहले ३० हजार, खाल्टो खने बापत लाल बहादुर थापाको समूहले ४६ हजार, खच्चडमार्फत गिट्टी बालुवा ढुवानी र होटेलमा खाना तथा बास बसेवाफतको राम बहादुर थापाले २ लाख ८० हजार रकम नपाएको उनीहरुको दुखेसो छ ।
स्थानीय व्यापारी प्रकाश थापाको पसलबाट सामान तथा नगद गरी निर्माण व्यवसायीले लिएको १८ हजार, तिलक थापाको ट्याक्टरमा बालुवा ढुवानी र होटेलमा गरेर १ लाख, टेक बोगटीको समूहले भवन निर्माण गरेवापत ४ लाख ९२ हजार गरि ११ लाख १६ हजार रुपयाँ निर्माण व्यवसायीले बुझाएका छैनन् ।
भैरव शक्ति निर्माण सेवाले ठेक्का लिएर उक्त काम सहायक ठेकेदार तेज खड्कालाई जिम्मा दिएको थियो । ती ठेकेदारले कामदारहरुको पैसा नतिरेर फरार भएको कामदारहरु बताउँछन् ।
आफूले गाउँपालिकालाई ३२ लाखको बिल पेश गरेको तर बजेट अभावको कारण देखाउँदै २१ लाख मात्र भुक्तानी पाएको बताउँछन् भैरव शक्ति निर्माण सेवाका सञ्चालक शिव खड्का । त्यसै बेलामा आफूले सबैको पैसा दिएसकेको र कतै बाँकी रहेको भए आफूलाई जानकारी नभएको उनको भनाई छ । आफूले पटकपटक सायल गाउँपालिकालाई बजेट ब्यवस्थापन तथा म्याद थप गरि माग्दा हालसम्म निकास नदिएको खड्काको गुनासो छ ।
उनी भन्छन् ‘गाउँपालिकाले निकास दिएमा स्वास्थ्य जस्तो संवेदशील क्षेत्रमा इमानदार भएर काम गर्ने थिएँ ।’ आगामी आर्थिक वर्षमा गाउँपालिकामार्फत भवन निर्माणको कार्य सम्पन्न गर्ने बताउँछन् सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी । आफू निर्वाचित भएर आइसकेपछि निर्माण व्यवसायी कम्पनी भैरव शक्ति निर्माण सेवालाई पटक–पटक पत्राचार गर्दा पनि भवन निर्माण कार्य सम्पन्न नगरेको अध्यक्ष जोशीको आरोप छ ।
‘निर्माण व्यवसायीलाई पटक पटक पत्राचार गर्दा समेत सम्पर्कमा आएनन्’ जोशीले भने ‘प्रदेशमार्फत आएको बजेटबाट गर्नुपर्ने काम निर्माण व्यवसायीले सम्झौता अनुसार समयमै नगरिदिएपछि गाउँपालिकाले बजेट बिनियोजन गर्नु पर्यो’ जोशी भन्छन् ‘त्यो वजेटबाट समेत समयमै काम गरि दिएनन् ।’ उनले आगामी आर्थिक वर्षमा निर्माण व्यवसायीवारे कानुनी उपचारको बाटो खोज्दै भवन निर्माण कार्य सम्पन्न गर्ने बताए । नेपाल प्रेस











