बाजुरा — जिल्लाको जगन्नाथ गाउँपालिका–२ मल्लोहुनीकी भावना बिष्टकी २ महिनाकी छोरीको कुपोषणका कारण मृत्यु भएको छ।
जिल्ला अस्पताल बाजुराका डा. प्रकाश बुढाका अनुसार मृतक बालिका कुपोषणसँगै अन्य रोगको संक्रमणबाट समेत पीडित थिइन्। चिकित्सकहरूको प्रयासका बाबजुद पनि उनलाई बचाउन नसकिएको बुढाले जानकारी दिए।
बाजुरा जिल्लामा बालबालिकामा कुपोषणको अवस्था अत्यन्तै गम्भीर रहेको छ। हालसालैको तथ्याङ्क अनुसार यहाँ पुड्कोपन ४८.८ प्रतिशत, ख्याउटेपन ८.६ प्रतिशत, कम तौल ३०.६ प्रतिशत तथा समग्रमा ४८ प्रतिशत बालबालिका कुपोषणको चपेटामा परेका छन्।











