कैलाली — भारतबाट भन्सार छली गरी ल्याइएका करिब १ लाख ८४ हजार रुपैयाँ बराबरका वस्तुहरू कैलालीको विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी इकाइबाट खटिएको गस्ती टोलीले धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, ऐश्वर्यनगर–३ विशालनगर र टीकापुर नगरपालिका–९ जिरोप्वाइन्ट क्षेत्रबाट ती सामान नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद सामग्रीमा धोती, लुङ्गी, सारी, प्लास्टिक झिल्ली, प्लास्टिक डोरी लगायतका वस्तु छन्। सबै सामग्री बेवारिसे अवस्थामा फेला परेको जनाइएको छ।
प्रहरीले बरामद सामग्री भन्सार कार्यालयमा बुझाउने तयारी गरिरहेको छ भने भन्सार छलीसम्बन्धी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ











