अछाम — जबरजस्ती करणी, मानव बेचबिखन तथा शरीर बन्धकजस्ता गम्भीर अपराधमा फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका–४ का २३ वर्षीय मोहनबहादुर चन्द रहेका छन्।
चन्दमाथि २०८१ माघ ४ गते अछामकी १९ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको थियो। घटना लगत्तै फरार रहेका उनलाई प्रहरीले विशेष सूचनाको आधारमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीस्थित आफन्तको घरबाट बिहीवार साँझ ५ बजे पक्राउ गरेको हो।
अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीका अनुसार चन्द हाल जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको छ।











