दार्चुला — ड्युटीमै रहेका बेला मोटरसाइकल दुर्घटनामा परेर दार्चुलामा एक जनाको दुःखद मृत्यु भएको छ। निधन हुनेमा लेकम गाउँपालिका–४ खर्कुच्चाका ३६ वर्षीय केशब राज ओझा रहेका छन्, जो सोही गाउँपालिकाका शिक्षा शाखा प्रमुख थिए।
ओझा सुदूरपश्चिम प्रदेश ०१–००१ प ७२९ नम्बरको मोटरसाइकलमा रिठाचौपाताबाट गाउँपालिकातर्फ जाँदै गर्दा गोदालीस्थित भित्री सडक खण्डमा अचानक माथिबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका थिए।
घटनापछि उनलाई तत्काल गोकुलेश्वर अस्पताल, दार्चुला लगिएको भए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
दार्चुला जिल्ला प्रहरी कार्यालयका अनुसार ओझा कर्तव्य पालनाका क्रममा यात्रामा थिए र दुर्घटनाले गाउँपालिकालाई ठूलो क्षति पुर्याएको छ।











