सिलगढी, वैशाख २१
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३, बैवाहाका खडकबहादुर चौधरीले पछिल्लो पाँच वर्षदेखि बसन्ते मकैखेती गर्दै आइरहेका छन्। उनले १२०८ नम्बरको वर्णशङ्कर (हाइब्रिड) जातको मकै खेती गरी चार महिनामै ३० हजारदेखि ७० हजार रुपैयाँसम्म आम्दानी गरेका छन्। चौधरीका अनुसार, पाँच कट्ठा जमिनमा लगाइएको मकैका बोटमा तीनदेखि चारवटासम्म घोगा लाग्ने गर्छ।
उन्नत जातको मकैको तुलनामा वर्णशङ्कर जातबाट २५ देखि ३० प्रतिशतले बढी उत्पादन हुने गरेको छ। फागुनको पहिलो हप्तामा रोपिएको मकै जेठभित्रै उत्पादन दिन थाल्छ। हरियो मकै खेतबारीमै १० देखि १५ रुपैयाँ प्रतिगोटा मूल्यमा बिक्री हुने गर्छ भने नबिकेको मकै पाकेपछि बिक्री गरिन्छ।
मकै खेतीसँगै चौधरीले यसको डाँठ मेसिनमा काटेर भुसासँग मिसाई बाख्रा, भैँसी, बङ्गुरका लागि चारोको रूपमा प्रयोग गर्दै आएका छन्। बैवाहाका अन्य १५ जना किसानले पनि ४ देखि ७ कट्ठा जमिनमा वसन्ते मकैखेती गरिरहेका छन्।
मकैको उत्पादन सकेपछि ती किसानले समयमै धान रोप्ने गरेका छन्। छोटो अवधिमा मकै फल्ने भएकाले यसलाई प्राथमिकतामा राखिएको छ। केही किसानले १२८०, अरुण–२ र अरुण–६ जातका मकै पनि खेती गरेका छन्। किसान रामलाल चौधरीका अनुसार, गत वर्ष पाँच कट्ठा जग्गाबाट ८० हजार रुपैयाँ आम्दानी भएपछि उनी यस वर्ष पनि खेतीलाई निरन्तरता दिइरहेका छन्।
वसन्ते मकैखेतीमा संलग्न अधिकांश किसानले बाख्रापालन पनि गर्दै आएका छन्। धेरै किसानको घरमा १० देखि २२ वटा बाख्रा छन्। बाख्रापालन र सिँचाइका लागि किसानले सृजनशील सहकारी संस्थाबाट ऋण लिएका छन्, जसको अधिकांशले खसी, बोका बिक्री गरी ऋण चुक्ता गरिसकेका छन्।
मकैका बोट निश्चित दूरीमा रोपिएकाले गोडमेल, सिँचाइ तथा मल छर्न सजिलो हुने किसानहरू बताउँछन्। झारपात नियन्त्रण र रोग–कीराको रोकथामका लागि कृषि प्राविधिकसँग सल्लाह लिँदै आएका छन्। आम्दानी बढेपछि किसान अझ धेरै जमिनमा मकैखेती गर्न उत्साहित भएका छन्।











