कैलाली — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत भ्रमणको क्रममा ऊर्जा, पूर्वाधार र प्रविधि सम्बन्धी महत्त्वपूर्ण छलफलमा सहभागी भएका छन्। नयाँ दिल्लीस्थित जलविद्युत् विकास सङ्गठन (एनएचपीसी) लिमिटेडका अधिकारीहरूसँग भएको भेटमा पश्चिम सेती जलविद्युत् आयोजना निर्माणबारे विस्तृत छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
भ्रमणका क्रममा पञ्चेश्वर, बेतन कर्णाली, फुकोट कर्णाली र मुगु कर्णाली जलविद्युत् आयोजनाहरूको सम्भाव्यता प्रतिवेदनबारे समेत छलफल भएको छ। साथै, मुख्यमन्त्री नेतृत्वको टोलीले भारतको ‘नेश्नल स्किल डेभलपमेन्ट कर्पोरेशन’ सँग सीप विकासमा प्रविधिमैत्री रणनीति अपनाउने विषयमा विचार आदानप्रदान गरेको छ।
आधुनिक कृषि र प्राविधिक आत्मनिर्भरतातर्फ अग्रसरता
मुख्यमन्त्री शाहले कृषि अनुसन्धान केन्द्रका अधिकारीहरूसँग नेपालमा आधुनिक कृषि प्रणाली विकासबारे छलफल गरेका छन्। सूचना प्रविधिको युगमा डिजिटल सीप र प्रविधिमार्फत जनतालाई आत्मनिर्भर बनाउने विषयमा पनि जोड दिइएको सचिवालयले जनाएको छ।
पूर्वाधार र पारवहन सहकार्यमा जोड
मुख्यमन्त्री शाह र भारतका विदेश राज्यमन्त्री कीर्तिवर्द्धन सिंहबीचको भेटमा दार्चुला पुल निर्माण, ब्रह्मदेव–टनकपुर ब्यारेज आवागमन, बैतडी–डडेलधुराका पुल तथा तिकुनिया–खक्रौला सडक निर्माणमा भारतको सहकार्यलाई तीव्रता दिने सहमति जनाइएको छ। विदेश राज्यमन्त्रीद्वारा आयोजित दिवा भोजमा शाहको सहभागिता रहेको थियो।
लगानी सम्मेलन र सम्मान
उद्योगपतिहरूसँगको भेटमा शाहले सुदूरपश्चिम सरकारले चाँडै आयोजना गर्न लागेको ‘लगानी तथा विकास सम्मेलन’बारे जानकारी गराएका छन्। भ्रमणको पहिलो दिन मुख्यमन्त्री शाहले राजघाट पुगेर महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जली अर्पण गरेका थिए।
भारत सरकारको निमन्त्रणमा मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ गतेदेखि एकसाताको भारत भ्रमणमा रहेको छ।











