कैलाली फकलपुर । बिहानै उठेर गमलामा हरिया पालुंगो, काँक्रो, र बोडीका पातहरू चहकिएको दृश्य हेर्दा फकलपुरका किसान जगतराम चौधरीलाई सन्तुष्टिको अनुभूति हुन्छ। विगत १५ वर्षदेखि उहाँले आफ्नै हातले हुर्काएको सागसब्जीले उहाँको परिवारको भरणपोषण मात्र होइन, सपना पनि साँच्न थालेका छन्।
छ कट्ठा जमिनमा व्यावसायिक रूपमा सागसब्जीखेती गर्दै आउनुभएका चौधरीले हरेक वर्ष तीन लाख रुपैयाँसम्म आम्दानी गर्नुहुन्छ। आठ जना सदस्य रहेको परिवारका लागि यो आम्दानीले पढाइ, स्वास्थ्य, र दैनिक खर्च सहजै धानिएको छ। “पहिले अन्य काममा भर पर्थें,” चौधरी सम्झनुहुन्छ, “तर सागसब्जीखेती थालेपछि आफ्नो मिहिनतकै फल खान पाइयो।”
चौधरी केवल आम्दानीमै सीमित छैनन्। उहाँले जैविक मलको प्रयोग गरेर स्वास्थ्य र वातावरण दुवैको संरक्षण गर्दै खेती गर्दै आउनुभएको छ। “नजिकैको अत्तरिया बजारमा सागसब्जी लैजान्छु, तुरुन्तै बिक्री हुन्छ,” उनी मुस्कुराउँदै भन्छन्।
फकलपुरकै अर्को उदाहरण हुन् धनलाल चौधरी। चार कट्ठा जमिनमा व्यावसायिक सागसब्जीखेती गर्दै आएका धनलालले सागसब्जीले जीवनको दिशा फेरिएको अनुभव सुनाउनुहुन्छ। “ऋण लिनुपर्ने बाध्यता हटेको छ,” उहाँ गर्वका साथ बताउनुहुन्छ, “सागसब्जीखेतीले आत्मनिर्भर बनायो।”
अहिले फकलपुरका धेरै किसानहरू जगतराम र धनलालजस्तै सागसब्जीखेतीलाई जीवनको आधार बनाउँदैछन्। बारीभरि हरिया सागसब्जी देख्दा उनीहरूका सपना उम्रिरहेको अनुभव हुन्छ।
यहाँका किसानहरूका लागि सागसब्जीखेती अब केवल पेशा होइन, गाउँमै आत्मनिर्भर भविष्यको बाटो बनेको छ।











